विनाशकारी हावाहुरीले बारा र पर्सामा कम्तीमा २७ को मृत्यु ४०० भन्दा बढी घाइते

- समय सन्दर्भ

काठमाडौँ, चैत १८ गते। बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ। घटनामा ४०० भन्दा बढी घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले गोरखापत्रसँग राति १२ बजे कुरा गर्दै भन्नुभयो, “बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी २७ जनाको निधन भएको जानकारी आएको छ। ” उहाँले ४०० भन्दा बढी घाइते भएका र गाउँगाउँबाट विवरण आउन बाँकी रहेको बताउनुभयो।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै एम्बुलेन्स उद्धारका लागि गाउँगाउँमा पठाई सुरक्षाकर्मी परिचालन गरिएको छ। यस आपत्कालीन अवस्थामा घाइतेको उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिइएको उहाँले बताउनुभयो।

प्रजिअ भट्टराईले भन्नुभयो, “घाइतेको उपचारमा रगत अभाव नहोस् भनी रेडक्रस परिचालन गरी निःशुल्क उपलब्ध गराउन व्यवस्था गरिएको छ। ” विभिन्न स्थानबाट आएको जानकारीको विवरण दिँदै उहाँले थप्नुभयो, “गण्डक चोकमा यात्रु सवार गाडीलाई नै विनाशकारी हुरीले पल्टाइदिएको छ। सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलले अनियन्त्रित भएका थिए। ”
बारामा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–७ का ६५ वर्षीया कोइलीदेवी, सोर्नागाउँपालिका–८ का ३५ वर्षीय तरिफ खान र पहिचान नखुलेका एक भारतीय नागरिक छन्।
यहाँ मृत्यु हुनेमा प्रायः भारतीय मजदुर रहेका तथा उनीहरूको परिचय खुल्न नसकेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो। कलैया उपमहानगरपालिका–१२ स्थित इँट्टा उद्योगका धुवाँ फाल्ने चिम्नी भत्किँदा धेरै मजदुर घाइते भएको उहाँले जानकारी दिनुभयो।
घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको बाराका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी दिनुभयो।
राति हावासँगै आएको असिनापानीले जिल्लाको पुरैनिया, परशुरामपुर, भरवलिया, पतौरा, मझौलिया, तेलगाई लगायतका स्थानमा धेरै क्षति भएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो।
उद्धारमा जुट्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । घटनापछि ट्विट गर्नुहुँदै उहाँले उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभएको छ।
उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको र मौसमले साथ दिनेबित्तिकै तत्काल उद्धारमा खट्न पनि उहाँले आह्वान गर्नुभएको छ।

-गोरखापत्र

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal