पानीजहाज चाँडै नआउने, कालुघाट-साहेबगन्ज टर्मिनल सिफारिस, गण्डक र कोसीमा अब अध्ययन

- समय सन्दर्भ

पानीजहाज

गण्डक बाँध (ब्यारेज) हुँदै पानीजहाजबाट सामान ओसारपसार गर्न भारतले गंगा नदीमा विकास गरिरहेको साहेबगन्ज र कालुघाट टर्मिनल प्रयोग गर्नेबारे सहमति भएको छ।

नेपालले हल्दिया बन्दरगाहमा आउने सामान साहेबगन्ज टर्मिनल प्रयोग गरेर विराटनगरमा ओसारपसार गर्न सक्छ भने वीरगन्जका लागि कालुघाट टर्मिनल प्रयोग गर्न सक्छ।

नेपाल र भारतका अधिकारीहरूबीच शुक्रबार भएको बैठकले सन् १९९९ को द्विदेशीय पारवहन सन्धि संशोधन गरी साहेबगन्ज र कालुघाट टर्मिनल हुँदै तीनवटा रुट तत्काल सिफारिस गर्ने सहमति गरेको हो।

ती तीन रूटमा साहेबगन्ज-मरीहरी-जोगबनी/विराटनगर, साहेबगन्ज-भागलपुर-जोगबनी/विराटनगर र कालुघाट-रक्सौल छन्।

साहेबगन्ज विराटनगरबाट १ सय ५० किलोमिटर दक्षिणमा पर्छ भने वीरगन्जबाट १ सय ८० किलोमिटर दक्षिणमा कालुघाट पर्छ।

दुई देशका अधिकारीहरू गण्डक र कोसीको स्थलगत भ्रमण सकेर बिहीबारदेखि काठमाडौंमा बैठक बसेका थिए। नेपालमा पानीजहाज कसरी ल्याउन सकिन्छ भन्नेबारे छलफल केन्द्रित थियो।

बैठकपछि शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार द्विदेशीय संयुक्त टोलीले थप चारवटा रूटसमेत सिफारिस गरेको छ।

तिनमा साहेबगन्ज-मरीहरी-पानीटंकी/काँकरभिट्टा, हल्दिया-वाराणसी-सुनौली/भैरहवा, कालुघाट-वाल्मिकीनगर/गण्डक ब्यारेज र साहेबगन्ज-भीमनगर/कोशी ब्यारेज छन्।

गण्डक बाँध हुँदै पानीजहाज ल्याउन नेपाल सरकारले तीन साताअघि ‘पानीजहाज कार्यालय’ खोलिसकेको छ। भारत सरकारले पनि गण्डक नदी हुँदै नेपालले पानीजहाजबाट सामान ओसारपसार गर्न सक्ने सार्वजनिक रूपमै बताएको छ।

शुक्रबार सकिएको द्विदेशीय बैठकले यसको निम्ति बाटो खोले पनि तत्काल पानीजहाज नेपाल आउने छैन।

दुवै पक्ष सम्मिलित संयुक्त प्राविधिक टोली गठन गरी गण्डक/नारायणी नदीमा जलपारवाहन सञ्चालसम्बन्धी प्राविधिक अध्ययन तत्काल सुरू गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।

वार्ता क्रममा नेपाली पक्षले भारतले गंगा नदीमा विकास गरिरहेको जलपारवाहन रूटमा नेपाली पानीजहाज सञ्चालनको सम्भावनाबारे कुरा राखेको थियो। विज्ञप्तिअनुसार भारतीय पक्षबाट यसबारे कानुनी प्रावधान अध्ययन गरी जानकारी गराउने भनेको छ।

प्रधानमन्त्री ओलीको सन् २०१८ अप्रिल ६ देखि ८ सम्म भएको भारत भ्रमण क्रममा दुई देशबीच जलपारवाहनबारे सहमति भएको थियो।

यसैअनुरूप नेपाली टोलीले भारत सरकारले गंगा नदीमा विकास गरिरहेको वाराणसी कोलकाता टर्मिनलको स्थलगत अध्ययन गरेको थियो। त्यस्तै, नेपाल-भारत संयुक्त टोलीले गण्डक/नारायणी तथा कोसी नदीमा जलपारवाहनको सम्भावना र पूर्वाधार विकासबारे स्थलगत अध्ययन गरेको थियो।

बैठकमा नेपाली पक्षको नेतृत्व जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेले गरेका थिए भने भारत तर्फबाट भारतीय अन्तर्देशीय जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डे प्रमुख थिए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal