राजेश हमालकी श्रीमती हुनासाथ महिला बाठो भइहाल्छन्?

- समय सन्दर्भ

‘साहुजी, मलाई ह्वील ओके दिनु’स् त!’

साहुजी र एक सुशील महिलाबीचको सम्वादबाट विज्ञापन सुरु हुन्छ। साहुजी ‘ह्वील ओके’ को सट्टा अर्को कुनै ‘डिजरजेण्ट पाउडर’ भिडाउन खोज्छन्। तर, भद्र र चतुर महिला ‘ह्वील ओके’ नै माग्छिन्। र, भन्छिन्, ‘राजेश हमालकी श्रीमती भएपछि बाठी हुनु परेन त!’

बहुराष्ट्रिय कम्पनीको विज्ञापन हो यो। सधैँ टेलिभिजनमा देखाइने र रेडियोमार्फत सुनाइने। युवतीलाई आफू बाठो भएकोमा भन्दा राजेश हमालकी श्रीमती भएकोमा बढी गर्व छ। भनौँ, उनी राजेश हमालकी श्रीमती भएकैले बाठी भएकी हुन्!

विज्ञापन निर्माताले राजेश हमालको ‘स्टारडम’ बिकाउन खोजेको प्रष्टै हो। तर, अर्को सत्य के हो भने, यो विज्ञापन महिला अस्मितामाथिको ठाडो आक्रमण पनि हो। के महिला कसैको श्रीमती भएकै कारण बाठो हुनुपर्छ? के महिलाको आफैसँग कुनै बाठोपन हुँदैन? सार्वजनिक सञ्चारमाध्यममा बज्ने यो विज्ञापनले पुरुषको मपाईंत्वको गुणगान भने मज्जाले गरेको छ। मानौँ, राजेश हमाल भन्ने पुरुषलाई संसारका सबै कुरा थाहा छ। यो विज्ञापन राजेश हमालको नाममा जोक बनाउने समूहको निर्माण त पक्कै होइन होला!

यो त उदाहरण मात्र हो, विज्ञापनमा महिलाको गलत प्रयोग बहसको विषय हो। यो विषयमा बेला–बेला बहसका स्वरहरु सुनिए पनि महिलाहरु स्वयं यो विषयमा गम्भीर नभएका हुन् वा वैश्यिक युगले उनीहरुको दोहन गरेको हो, भन्न गाह्रो छ।

कसैको श्रीमान वा श्रीमती हुनु आवश्यकता र रहर दुबै होला। तर, एउटा फरक परिवेश, फरक परिवारमा जन्मेकी महिला कसैको श्रीमती हुनासाथ चतुर बन्नैपर्छ र? राजेश हमाल पनि ‘ह्वील ओके’ को अर्को एक विज्ञापनमा श्रीमतीसँगै देखिन्छन्। उनी नेपाली सिने उद्योगमा बुद्धिमान नायकको रुपमा दर्ज छन्। उनीजस्ता नायकले आफ्नै अर्धाङ्गिनी अभिनित विज्ञापनमा नारीकै अपमान गरेको याद गरे कि गरेनन्? यतातिर पनि नजाऊँ।

आज नारी दिवस, देशका हरेक ठाउँका सुकिला-मुकिला महिलाहरुले जुलुस निकाले। महिला अधिकारका कुरा गरे, अनि थप अधिकारको माग गरे। नेपालको संविधानले महिलालाई अधिकार दिएकै छ। आरक्षणको भ¥याङ चढेर केही महिलाले क्षमताभन्दा ठूलो अवसर पनि पाएकै छन्। तर, दूरदराजका महिलाहरुको समस्या भने ज्यूँकात्यूँ छ। उनीहरुका लागि अधिकार त परको कुरा, आफ्नो नाममा गरिएको रजाइँ पनि थाहा हुँदैन।

हो, महिलाहरु सदियौँदेखि विभेदमा परे। उनीहरुलाई शिक्षाबाट बञ्चित गरियो। भोग्यामा सीमित बनाइयो। अनि ‘स्वास्नी मान्छे भएर हाँस्न हुन्न’ भन्नेसम्म लेखियो। एक हदसम्म यो लेखाई लेखकले बाँचेको समाजको उपज थियो। नत्र, उनै भानुभक्त राजधानी खाल्डो छिर्नासाथ ‘चपला अवलाहरु एक सुरुमा, गुनकेसरीको फूल लिई शीरमा, हिँड्न्या सखी लिईकन वरिपरी, अमराबती कान्तिपुरी नगरी’ भन्ने वाक्यांश किन लेख्थे?

यस मानेमा भारतीय नायिका कंगना रनौत सही छन्। हाल सालैको एक अन्तर्वार्तामा उनले आफू रिलेसनमा रहेको र ‘विद्रोही युवतीलाई नै पुरुषले मन पराउने’ अभिव्यक्ति दिइन्। उनी भारतीय सिने क्षेत्रकी क्वीन हुन् र विद्रोहको पर्याय पनि। तर, उनीभन्दा पहिल्यै हिन्दु धर्मग्रन्थले विद्रोही नारीलाई पूजा गरेकै थिए।

शिक्षाको अवसर पाएका महिलाहरु अगाडि बढे, संघर्ष गरे। पुरुषवादी सोचलाई लल्कारे, अनि केही अधिकार पनि हत्याए। केहीले हाम्रा धार्मिक मान्यताका कारणले गर्दा महिला पछि परेको तर्क पनि गरे र गर्दैछन्।

सबैलाई थाहा छ, हिन्दु समाजले पुज्ने पञ्चकन्याहरु आफैमा कन्या होइनन्। उनीहरुले एक पुरुष पनि भनेनन्। वेश्यादेखि पुरुषत्वलाई गन्दै नगन्ने महिलाहरु पनि रहेका छन्। खासमा तारा, कुन्ती, मन्दोधरी,अहिल्या र द्रौपदीहरु विद्रोहका संवाहक हुन्। उनीहरुको सम्मान गरेर नारी शक्तिको सम्मान गरिएको हो, अनि विद्रोही नारीलाई नै पुरुषले मन पराउँछन् भन्ने सत्य स्थापित गरिएको हो।

अकोतर्फ, हिन्दुहरु पितृपूजामा पनि महिलाहरुलाई बढी महत्व दिन्छन्। श्राद्ध गर्दा बाबुतिरका तीन पुस्तालाई मात्र तर्पण दिइन्छ। पिता, हजुरबुबा र बूढाबाजे मात्र ‘त्रिपन्ताम्’ का भागिदार हुन्छन्। तर, मातृ पुस्तातिर भने तर्पण पाउने चार पुस्ता हुन्छ। यो नारीमाथि गरिएको सम्मान नै हो भन्दा अत्युक्ति हुँदैन। यो मातृसत्तात्मक समाजको चित्रण पनि हो।

आफू सत्तामा रहँदा आफ्ना भाई अर्थात् मामालाई पनि तर्पण दिन आमाले नै लगाएकी हुन्, न कि तथाकथित् पण्डितले। नारीवादीको स्वर चर्कै छअहिले पनि। तर, सत्ता आफ्नो हातमा भएमात्र निर्णय पनि आफू अनुकूल हुन्छ। आफू अनुकुलको निर्णय गराउन आफ्नो दिमाग आफ्नै नियन्त्रणमा हुनुपर्छ। अमुक मान्छेको श्रीमती हुँ भन्ने बिर्सन सक्नुप¥यो। तब मात्र नारी स्वयंलाई आफ्नो शक्तिको महशुस हुन्छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal