हेपाटाइटिस बी र सीले यसरी खान्छ कलेजो

- समय सन्दर्भ

भक्तपुरका ३८ वर्षीय अनुप श्रेष्ठ (नाम परिवर्तन) यतिबेला वीर अस्पतालको शैयामा जीवन खोजिरहेछन्। तर उनले पुनर्जीवन पाउने सबै ढोका लगभग बन्द भइसकेका छन्। कारण अहिले उनी कलेजको गम्भीर रोग हेपाटाइटिस ‘सी’ ले थला परेका छन्। यतिमात्र हैन उनमा एचआइभीसमेत संक्रमण भइसकेको छ। जसका कारण उनको कलेजोमा सिरोसिस(कलेजो धेरै बिग्रेको अवस्था) भइसकेको छ।

यस्तो अवस्थामा उनको उपचार भनेको कलेजो प्रत्यारोपण मात्रै हो। तर उनको घरको आर्थिक अवस्था कमजोर भएकाले कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्थामा उनी नरहेको उनको उपचारमा संलग्न हेपाटोलोजिस्ट डा. सन्दीप खड्काले बताए। ‘उनको पेटमा पानी आइसकेको छ, यस्तो रोग लागिसकेपछि बाँच्ने सम्भावाना दुई वर्षमात्र हुन्छ,’ उनले भने। उनी यो अवस्थामा पुग्नाको कारण उनले सुईमार्फत लागुपदार्थ लिनु रहेको अस्पतालको कलेजो विभागले जनाएको छ।

अस्पतालकै मेल मेडिकल वार्डमै उपचाररत काठमाडौंका ४२ वर्षीय राजन शर्मा (नाम परिवर्तन) लाई पनि सुई साटासाट गरेका कारण हेपाटाइटिस ‘बी’ सरेको हो। उनी पनि लागुऔषध प्रयोगकर्ता हुन्। हेपाटाइटिस छिप्पिएर उनको कलेजोमा क्यान्सर नै भइसकेको चिकित्सकले जनाएका छन्। उनलाई गत शुक्रबार नै जीवनको अन्तिम क्षण पर्खनका लागि अस्पतालले घर लैजान सिफारिस गरिसकेको छ। ‘अब उहाँको उपचार सम्भव छैन, घरमा पु¥याएर राख्नुहोस्,’ डा. खड्काले उनको परिवारजनलाई सम्झाउँदै भने।

यी दुई जनामात्र हैन, यसरी विभिन्न कारणले हेपाटाइटिस संक्रमण भएर अस्पतालको शैया कुर्ने बिरामी धेरै भेटिन्छन्। वीर अस्पताल कलेजो विभागका अनुसार अस्पतालमा हेपाटाइटिस बीले लिभर सिरोसिस (कलेजो बिग्रिने) भएर प्रतिवर्ष २ सय ७५ जना भर्ना हुने गरेका छन्। गम्भीर हेपाटाइटिस बी भएर ४ सय ७४ जना बहिरंग विभागमा उपचार गर्न आएका छन्। अस्पतालमा हेपाटाइटिस सीका कारण कलेजोको गम्भीर रोग लागेर वर्षमा ३ सय १२ जना उपचारका लागि अस्पताल पुग्छन्। तीमध्ये १ सय ७० जना लिभर सिरोसिस भएर भर्ना हुन्छन्।

त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा प्रतिमहिना औसतमा हेपाटाइटिस बी संक्रमित सय जना आउँछन्। तीमध्ये २० प्रतिशत बिरामी कलेजो सिरोसिस भइसकेका छन्। हेपाटाइटिस सी भएका मासिक २० जना आउने अस्पताले जनाएको छ। विदेश जाने तथा रक्तदान गर्ने क्रममा समस्या देखिएपछि उनीहरू उपचारका लागि आउने गरेको अस्पतालका हेपाटोलोजिस्ट डा. रविन हमालले जानकारी दिए। ‘यसरी आउनेमा धेरैजसो युवा छन्,’ उनले भने।

उपचार गर्न ढिला आउने गरेका कारण उनीहरूमा लिभर सिरोसिस तथा क्यान्सर भइसकेको पाइने गरेको चिकित्सक बताउँछन्। नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत जनामा हेपाटाइटिस बी संक्रमण भएको तथ्यांक छ। तीमध्ये १.१ प्रतिशत पुरुष र ०.५ प्रतिशत महिला छन्। चिकित्सकका अनुसार नेपालमा नियमित स्वास्थ्य जाँच गर्ने पहुँच तथा प्रचलन अभावमा रोग छिप्पिसकेपछि आउने बढी छन्। जसका कारण बिरामीमा कलेजोको गम्भीर समस्या आइसकेको हुन्छ। यसरी समस्या गम्भीर भइसकेपछि आउनेमा दुर्गम स्थानका तथा विपन्न वर्गका व्यक्ति पर्छन्। हेपाटाइटिस बी र सी भएका कतिपय बिरामी अन्य मौसमी हेपाटाइटिस ठानेर खाना बार्ने तथा आयुर्वेदिक उपचार गरिसकेपछि मात्र अस्पतालमा आइपुग्ने गरेको चिकित्सक बताउँछन्। ‘जतिबेला कलेजो धेरै बिग्रिसकेको हुन्छ,’ डा. सन्दीप खड्काले भने।

हेपाटाइटिस सी संक्रमण भएर आउनेमा बढी लागुपदार्थ प्रयोगकर्ता छन्। तर हेपाटाइटिस सी बीको तुलनामा कम सर्छ। आपसमा सुई साटासाट गरी लागुऔषध लिने गरेका कारण उनीहरूमा यो संक्रमण बढी देखिएको हो। चिकित्सकका अनुसार आमाबाट बच्चामा, असुरक्षित यौन सम्पर्क, रगत लिने क्रममा, अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई हेपाटाइटिस बी सर्ने सम्भावना बढी हुन्छ। बच्चा उमेरदेखि नै हेपाटाइटिस संक्रमण भएकाहरूलाई समयमै उपचार नभए पछि गएर लिभर सिरोसिस हुन्छ। अर्थात् यो रोग छिप्पिँदै जान्छ। पाका उमेरकामा संक्रमण भएमा यसको असर कम हुन्छ।

यी दुवै संक्रमणको उपचार समयमै गरे भाइरस बढेर शरीरमा फैलन नपाउने चिकित्सक बताउँछन्। हेपाटाइटिस बी र सीका भाइरस फैलिएर जटिल रूप लिन थालेमा शरीर तथा आँखा पहेंलो हुने, पेट फुल्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन्। कलेजो सिरोसिस भइसकेमा दिसाबाट रगत आउने, पेटमा पानी जम्मा हुने, खुट्टा सुन्निनेजस्ता समस्या देखापर्छन्।

उपचार
चिकित्सकका अनुसार यो भाइरसको संक्रमण फैलिएपछि उपचारबाट पूरै निको हुँदैन। तर यसलाई औषधि तथा नियमित जाँचबाट नियन्त्रणमा राखेर कलेजो हुने असरबाट बच्न सकिन्छ। यो रोग आमाबाट बच्चामा सर्ने हुनाले शिशु जन्मिनेबित्तिकै हेपाटाइटिसविरुद्धको खोप लगाउनुपर्छ। हेपाटाइटिस सीविरुद्धको खोप भने छैन।
यो रोगको भाइरस शरीरमा प्रवेश गरेको वर्षाैंपछि मात्र लक्षण देखिन थाल्छन्। जतिबेला कलेजोमा गम्भीर असर परिसकेको हुन्छ। यसैकारण नियमित स्वास्थ्य परीक्षण गरेर मात्र समयमै पहिचान गर्न सकिने चिकित्सक बताउँछन्। हरेक व्यक्ति यसको जोखिममा रहेकाले नियमित स्वास्थ्य जाँच गरी सुरक्षित रहन चिकित्सक सुझाव दिन्छन्। सिरोसिस (कलेजो बिगे्रर कडा हुने अवस्था) भइसकेपछि नयाँ कलेजो प्रत्यारोपण गर्नुबाहेक अर्काे विकल्प छैन।
कलेजो प्रत्यारोपण गर्न अत्यन्त महँगो र जटिल उपचार भएकाले सकेसम्म समयमै समस्या पहिचान गर्नु उचित उपाय भएको चिकित्सक बताउँछन्। नेपालमा कलेजो उपचार गर्ने व्यवस्था ठूला अस्पताल तथा मेडिकल कलेजहरूमा छ। पछिल्लो समय कलेजो सिरोसिस भएमा प्रत्यारोपणको उपचार धर्मभक्त कलेजो प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पतालमा सुरु भइसकेको छ। तर हेपाटाइटिसको उपचार भने वीर अस्पताल र अन्य अस्पतालमा पनि हुन्छ।
सिरोसिस भइसकेपछि निको हुँदैन। त्यसैले बच्चा जन्मिनुअघि नै हेपाटाइटिसको अवस्था हेरेर आमालाई खोप लगाउनु पर्छ। हेपाटाइटिस निष्क्रिय अवस्थामा छ भने खोप लगाउनु पर्दैन। तर सक्रिय हेपाटाइटिस छ भने बच्चा र आमा दुवैलाई खोप लगाउनुपर्छ। बच्चा जन्मेको १२ घण्टामा आमा र बच्चा दुवैले खोप लगाएमा बच्चालाई सर्ने सम्भवाना कम हुने चिकित्सक बताउँछन्।

कसरी बच्ने ?
–जोखिममा रहेका व्यक्तिले समयमै हेपाटाइटिस परीक्षण गराउने
– सुरक्षित यौन सम्बन्धमात्र राख्ने
–यौनकर्मी, लागुऔषध प्रयोगकर्ताहरूले समयमै आफ्नो रगत परीक्षण गराउने
–आमामा यो रोग हुने छोराछोरीले स्वास्थ्य परीक्षण गराउने
–पहिचान भएका बिरामीहरूले नियमित उपचार गराउने
–अरूको रगत चढाएका बिरामीले पनि आफ्नो रगत परीक्षण गराउने
–हरेक स्वस्थ व्यक्तिले पनि आफ्नो रगत परीक्षण गराउने
हेपाटाइटिसका लक्षणहरू
–खान मन नलाग्ने
–ज्वरो आउने
–पेट दुख्ने तथा सुन्निने
–पेटमा पानी जम्मा हुने
–बेहोसी हुने
–पिसाब कम हुने
–रोग गम्भीर अवस्थामा पुगेपछि रगत वान्ता हुने
–दिसाबाट रगत आउने
–शरीर तथा आँखा पहेंलो हुने

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal