बचत घट्दा पनि बैंकहरुको ऋण प्रवाह बढ्यो

- समय सन्दर्भ

गभर्नर डा. चिरञ्जिवि नेपालले बारम्बार बैंकहरुलाई भन्ने गरेका छन् ‘तपाईहरु निक्षेप (बचत) अनुसार कर्जा दिनुहोस्।’ तर बैंकहरुले कर्जा दिँदा निक्षेपलाई भने अझै ध्यान दिएको पाइँदैन।

फागुनको दोस्रो साता बैंकहरुको निक्षेप ७ अर्बले घटेको छ, तर यही अवधिमा कर्जा भने २ अर्बले बढेको छ। माघमा बैंकहरुको निक्षेप जम्मा २१ अर्बले बढ्दा कर्जा ४५ अर्बले बढेको छ।

निश्चित समयमा ऋणीलाई दिने भनेर सहमति गरेको कर्जा निक्षेप नआए पनि दिनुपर्ने हुँदा तलमाथि हुने गरेको बैंकर बताउँछन्। ‘कुनै साता निक्षेप बढी होला, कुनै साता कर्जा बढी होला, तर समग्रमा निक्षेप र कर्जामा असन्तुलन छैन’ एक प्रमुख कार्यकारीले भने।

पहिले नै प्रतिज्ञा गरिसकेको ऋण प्रवाह गर्नुपर्ने हुँदा पनि कुनै साता निक्षेपको तुलनामा कर्जा बढी देखिने वा निक्षेप घटे पनि कर्जा बढेको देखिने उनले बताए। ‘कुनै साता वा कुनै महिनालाई मात्रै विश्लेषण गर्नु हुँदैन’ उनले भने ।

बैंकहरुले निक्षेपअनुसार कर्जा प्रवाहमा ध्यान नदिँदा कतिपयको तोकिएको कर्जा सीमा अनुपात समेत नाघेको छ। माघ मसान्तसम्म प्राथमिक पुँजी र स्वदेशी निक्षेपको योगफलमा वाणिज्य बैंकहरुको औसत कर्जा सीमा (सिसिडी रेसियो) ८०. ९५ पुगेको छ।

फागुनको १७ गतेसम्म वाणिज्य बैंकहरुले कुल २६ खर्ब ७७ अर्ब निक्षेप संकलन गरेका छन्। यस अवधिसम्म बैंकहरुको कर्जा प्रवाह २३ खर्ब ९८ अर्ब पुगेको छ।

नयाँ ऋणी विकास बैंक र फाइनान्सतिर धाउन थाले

वाणिज्य बैंकहरुले ऋण दिन नसक्ने अवस्था आएपछि नयाँ ऋणीहरु विकास बैंक र फाइनान्सतिर जान थालेका छन्।

कात्तिक मसान्तदेखि माघ मसान्तसम्म वाणिज्य बैंकहरुमा ऋण खाता संख्या ३ हजार ७१२ ले बढेको छ। तर यही अवधिमा विकास बैंकहरुमा ऋण खाताको संख्या २१ हजार १६५ ले बढेको छ भने फाइनान्स कम्पनीहरुमा २ हजार ९६ ले बढेको छ।

तथ्यांकअनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुमा ऋण खाताको संख्या ९ लाख ८७ हजार ९४२ पुगेको छ। विकास बैंकहरुमा यो संख्या ३ लाख ३१ हजार २३३ तथा फाइनान्स कम्पनीहरुमा ४१ हजार १४९ रहेको छ।व्याजदर पनि वाणिज्यकोभन्दा लगभग उस्तै रहेकाले विकास बैंक र फाइनान्सतिर नयाँ ऋणीहरु आकर्षित भएका हुन्।

ऋणीको संख्या थपिएसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुको ऋण प्रवाह उच्च देखिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म विकास बैंकहरुले प्राथमिक पुँजी तथा स्वदेशी निक्षेपमा ८१. ३८ प्रतिशत ऋण प्रवाह गरेका छन्। पुस मसान्तसम्म यो दर ७८. ३८ प्रतिशत मात्रै थियो।

फाइनान्स कम्पनीहरुले माघ मसान्तसम्म प्राथमिक पुँजी तथा स्वदेशी निक्षेपमा ८१. १५ प्रतिशत कर्जा प्रवाह गरेका छन्। पुस मसान्तसम्म यो दर ७९. ७३ प्रतिशत मात्रै थियो।

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal