काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ। अर्थ मन्त्रालयले शुक्रबार सूचना सार्वजनिक गर्दै नियुक्ति प्रक्रिया रद्द गरिने जनाएको हो।
बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तरगत दोस्रो चरणमा अन्तरवार्ताको लागि बोलाइएको पाँचजनामध्ये दुई मात्र उपस्थित भएपछि बोर्डको अध्यक्ष छनोट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो।
महान्यायाधिवक्ताको कार्यालयले बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुईजनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेपछि नियुक्ति प्रक्रियामा अड्चन आएको थियो। महान्यायाधिवक्ताको कार्यालयले या पहिलो चरणमा छानिएका पाँचमध्ये तीनजनाको नाम सिफारिस गर्नुपर्ने नभए पुनः नयाँ प्रक्रिया सुरू गर्नुपर्ने बताएको थियो।
धितोपत्र ऐन अनुसार पनि छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।
पहिलो चरणबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छनोट भएका थिए। तर,
कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भए। बाँकी तीनजनालाई पुन: बोलाइए पनि उपस्थित भएनन्।
पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड विगत ६ महिनादेखि नेतृत्वविहीन छ। अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो ।