काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ। आइसिसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले आफूलाई भिसा नदिएको उल्लेख गरेका छन्।
यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै सफाइ दिएको थियो।
त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए।
अमेरिकी दूतावासका एक अधिकारीले लामिछानेलाई भिसा नदिइनुको कारण खुलाउन अस्वीकार गरेका छन्। अमेरिकी कानूनअनुसार भिसासम्बन्धी अभिलेखहरु गोप्य हुने भन्दै उनले भिसाको कुनै केशबारे टिप्पणी नगर्ने बताए।
‘अमेरिकामा हुने टी-२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि टोलीसँग भेट पनि गरेका थिए। आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ,’ दूतावासको भनाइ छ।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।