काठमाडौं। कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। धनुषा जिल्ला अदालतबाट मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको हो। उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको छ।
उक्त जाहेरीबारे समाचार बाहिरिएपछि सिरोहियाले एक विज्ञप्ति जारी गरेका थिए।
उनले राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।
कैलाश सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए।