काठमाडौं । इरानले इजरायलमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको छ। इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको हो। ती मध्ये धेरैलाई निस्तेज पारिएको छ।
इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरेली अपराधको जवाफ बताएको छ।
जसमा उसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसबारे जवाफ दिन वार क्याबिनेटको बैठक बोलाएका छन्।
यसअघि इजरायली डिफेन्स फोर्स आईडिएफले तेहरानले अवस्थालाई थप चर्काउन खोजेकाले यसको नतिजा झेल्नुपर्ने चेतावनी दिएको थियो।
इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरायली जवाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ।
हमलाका कारण दक्षिणी इजरायलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाइएको छ। विस्फोटन खसेको टुक्रा लागेर एक दश वर्षीया बालिका घाइते भएको जनाइएको छ।
पछिल्लो विज्ञप्तिमा आइडिएफले धेरैजसो हमलालाई आफ्नो एरो हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा निस्तेज पारिएको जनाएको छ।