काठमाडौं। पर्यटकीय केन्द्रको रुपमा रहेको चन्द्रागिरीमा अर्को केबलकार थपिने भएको छ। चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले दक्षिणकालीबाट चन्द्रागिरी जोड्ने गरी चम्पादेवी केबलकार निर्माण हुने भएको हो।
६ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त केबलकारको अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम भइरहेको छ। ईआईएको काम सकिएलगत्तै निर्माणको काम अगाडि बढ्ने सञ्चालक कमलेशकुमार अग्रवालले जानकारी दिए। केबलकारमा अग्रवाल सहितको टिमले लगानी गरिरहेका छन्।
कम्पनीले २०८० चैत २२ गते सूचना प्रकाशन गरी आयोजनाको वातावरणीय मूल्यांकन प्रतिवेदनका लागि आब्हान गरेको छ। काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा नम्बर १ बोसन गाउँमा तल्लो स्टेसन र चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ मा माथिल्लो स्टेसन रहने गरी केबलकार निर्माणको आयोजना प्रस्ताव गरेको छ।