काठमाडौं। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ।
मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए।
बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ। मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध कम्पनीले जनाएको छ।
त्यसैगरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो। भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ।