काठमाडौं । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालयले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिएको छ।
मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।
सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए।