काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ।
बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग ३-० गोलअन्तरले पराजित भएको हो। बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोल गरे।
समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो। यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग ५-० गोलअन्तरले पराजित भएको थियो। त्यसअघि नेपालले युएईविरुद्ध ४-० को हार बेहोरेको थियो भने यमनसँग २-० ले पराजित भएको थियो।
नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ। नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ। अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ।