काठमाडौं । नयाँ वर्षलाई लक्षित गरेर चैत ३० गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ। रामबाबु गुरुङ निर्देशित फिल्मको शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो।
एमए पास गरेर गाउँ फर्किएको माइला पात्र (दयाहाङ राई) को अहंकार र त्यसले उत्पन्न हुने परिस्थितिलाई ट्रेलरमा देखाइएको छ। दयाहाङका केही पञ्चलाइन रोचकरुपमा प्रस्तुत गरिएका छन्।
गाउँको कलेजमा अंग्रेजी शिक्षक नहुँदा कलेज नै खारेजी हुने अवस्थामा पुगेपछि अंग्रेजीमा एमए गरेको माइला पात्रलाई जागिरको प्रस्ताव गरिन्छ । तर, उसले अहंकार देखाउँछ । त्यसपछि उसलाई कलेजमा ल्याउन भएको रस्साकस्सीलाई ट्रेलरमा रोचक ढंगले बुनिएको छ। नायिकाकोरुपमा भने आँचल शर्माको अभिनय रहेको छ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ । फिल्ममा शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।
‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबु गुरुङले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरुप दिएका हुन् । सार्वजनिक टिजरमा ऋचा शर्मा पनि देखिएकी छन् । उनी शिक्षा अधिकारीको भूमिकामा हुनसक्ने बुझिएको छ।
ट्रेलर-