काठमाडौं । मोरङको बेलबारीमा एक व्यक्तिले पत्नीको हत्या गरेपछि आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन्। उनले ८ वर्षीय छोराको पनि हत्याको प्रयास गरेका थिए तर, उनी भागेर ज्यान जोगाउन सफल भएका छन्।
मोरङ प्रहरीले दिएको जानकारीअनुसार बमबहादुरले गयराति करिब पौने दुई बजेतिर धारिलो हतियार दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए। टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो।
पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ। घाँटी रेटेर गम्भीर घाइते अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो। विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको छ।
प्रहरीका अनुसार बमबहादुरको यो दोस्रो बिवाह हो। मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए।