काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन हुन नसक्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले नेपाली कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडान राखेको विषय सम्भव नरहेको पनि बताए।
ओलीले कांग्रेसलाई परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि आग्रह गरे। उनले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप पनि लगाए।
सरकारभन्दा बाहिर हुनेबित्तिकै कांग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने ओलीको भनाइ छ।
‘सरकार भन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन’, ओलीले भने, ‘हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौं। संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन।’