काठमाडौं। कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए। स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।
वि.सं. २००० सालमा भोजपुरमा जन्मेका परशु प्रधानले साहित्य यात्रा पनि भोजपुरबाटै थालेका हुन् । आफ्नो जागिरे जीवनको शुरुवात पनि त्यहीँबाट गरेका हुन् ।
स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए। उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित छन्।