सिरहा । सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले चुनाव ताका प्रयोग भएका गाडीको भाडा अझै पनि नतिरेको पाइएको छ ।
सांसद महतोले गाडीको भाडा अझैसम्म नतिरेपछि गाडीका साहु पीडित भएर मिडियालाई गुहारेका छन् । गत प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा अभियानका क्रममा थल्हाका ओमप्रकाश यादवको चारपांग्रे गाडी प्रयोग भएको थियो ।
उनको गाडी सांसद महतोले पैसा तिर्ने गरी जसपाका स्थानीय नेता किशोरी यादवलगायतले चुनावमा प्रतिदिन ५ हजारका दरले १७ दिनसम्म प्रयोग गरेका थिए । यसरी गाडीको भाडा जम्मा ८५ हजार हुन्छ ।
त्यसमध्ये जसपाबाट उम्मेदवार बनेका पूर्वराज्यमन्त्री सुरेशकुमार मण्डलले २० हजार आफूलाई दिइसकेको र सांसद महतोको भागको ६५ हजार बाँकी नै रहेको ओमप्रकाशले बताए । गाडीको भाडा माग्न जाँदा महतोले समय मात्र लिने गरेको, तर पैसा भने नदिएको उनले सुनाए ।
पटकपटक भौतारिँदा पनि पैसा नपाएपछि ओमप्रकाशले जिल्ला प्रशासन कार्यालय, सिरहामा उजुरी पनि दर्ता गराएका छन् । तर, सुनुवाइ चाहिँ नभएको उनको दुखेसो छ । कतैबाट पार नलागेपछि बाध्य भएर आफू मिडिया गुहारेको उनले बताए ।
यस विषयमा सांसद महतोसँग बुझ्न खोज्दा बारम्बारको प्रयासपछि पनि सम्पर्क हुन सकेन ।