काठमाडौं। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले आइतबार सार्वजनिक गर्यो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्यामा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर–३ बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरी सार्वजनिक गरेको हो। कक्षा १२ मा अध्ययनरत सुष्मालाई हत्या गरेर गाडेको अवस्थामा गत फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन गरेको र शव फेला परेको सम्बन्धमा उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको थियो।
अभियुक्तको पहिचान तथा खोजतलास गरी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुष्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुष्मा बूढानीलकण्ठस्थित बूढानीलकण्ठ माविमा अध्यनरत रहेकी र सुष्मालाई पछाडिको भागबाट घाँटीमा अँठ्याएपछि पनि रुपेन्द्रले प्रेम प्रस्ताव गरेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक डिएसपी अनिल घिमिरेले बताए।
उनका अनुसार सुष्माले प्रयोग गर्ने मोबाइल नम्बरबाट निजकी दिदी नाता पर्ने बिन्दा तामाङले प्रयोग गर्ने नम्बरमा विभिन्न म्यासेज गरेको खुलेको छ। गोकर्णेश्वर–३ स्थित जङ्गलमा (मृतकको घरबाट करिब एक किमी टाढा, स्कुल जाने बाटोबाट करिब १० मिटर तल) दुई हात मात्र देखिएको शरीरको अन्य भाग पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
यसैगरी, रुपेन्द्रले मृतक सुष्मा लामालाई विगत आठ महिनादेखि मन पराउँदै आएको र निजहरु दुवैजना घाँस काट्न, बाख्रा चराउन जङ्गलमा विगत १/२ वर्षदेखिसँगै जाने आउने गरेको तथा निजहरुबीच फोन सम्पर्क एवं कुनै पनि सामाजिक सञ्जालमा कुराकानी नहुने गरेको र भेटका बेला मात्र कुराकानी हुने गरेको खुलेको छ।
रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक-पटक प्रेम प्रस्ताव राखेको तर सुष्माले अस्वीकार गरेको तथा निजले मृतकलाई आठ दिनसम्म बाटोमा ढुकेर बसेको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ। सुष्माको बाटो छेकी प्रेम प्रस्ताव राखेकामा उनले इन्कार गरेकाले पछाडिबाट घाँटी थिची अचेत बनाई टाई र जुत्ताको तुनाले घाँटीमा कसेको तथा हातलाई निजकै कम्मर पेटीले बाँधी कुटोले खाल्डो खनी पुरेको प्रहरीले जनाएको छ।