सिमकोट, (हुम्ला)। हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन्। दुई वर्षअघि उहाँकी ११ वर्षीया छोरी माया विक छतबाट लडेर घाइते भई एउटा खुट्टा भाँच्चिएको थियो।
घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाउनुभएकी विकको अहिले भाँच्चिएको खुट्टा बाङ्गिएको छ भने उमेर बढ्दै जाँदा हिँड्डुलमा समस्या हुँदै आएको बुबाले जानकारी दिए। तत्कालीन समयमा उपचारका लागि राम्रो अस्पताल लैजान आर्थिक अभावले नसकिएको भन्दै अहिले छोरी हिड्न नसक्ने र बोल्न पनि नसक्ने भएको बुबाले दुखेसो पोखे।
मयाको दायाँ खुट्टा भाँच्चिएको थियो। चिकित्सिकले अहिले पनि उपचार सम्भव भएको प्रतिक्रिया दिएकालृ उपचारका लागि आर्थिक सहयोगका लागि आह्वान गरिएको बुबा बल्चितले बताए।
स्थानीय डाडाफयाँ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सन्तोष बोहराले सुविधासम्पन्न हाडजोर्नीसम्बन्धी अस्पतालमा उपचार सम्भव भए पनि आर्थिक अभाव भएकाले बल्चितले छोरीको उपचारका लागि सहयोग आह्वान गरेको बताए।
स्वास्थ्यकर्मी बोहराले भने, “अहिले पनि मायाको उपचार गर्न सकिन्छ तर खर्च बढी लाग्न सक्छ। विकको खुट्टाको उपचार गर्नका लागि परिवारको आर्थिक अवस्था कमजोर छ।” विकका घरपरिवारले अपाङ्ग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरिदिन आग्रह गरेको उनले बताए।