कैलाली। सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४ ‘सपोर्ट’ डोरीमा आंशिक क्षति पुगेको छ।
पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। उनले भने, “हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ। आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ। पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ।”
आइतबार अपराह्न वीरगञ्जबाट एक हजार एक सय कार्टुन लिएर हिँडेको ट्रक सोमबार सोमबार अपराह्न कर्णाली पुलमा पुगेको कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशीले बताए।
उनले भने, “हामी अपराह्न बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेकपोष्टमा पुगेका थियौँ। त्यहाँ चिट दिएर अगाडि बढ्यौं। गाडीमा लोड भएकाले हामी ४०–५० को गतिमा नै गाडी चलाइरहेका थियौँ। पुलको नजिक पुग्दा गाडीको गति ८ देखि १० को मात्र थियो।”
चालक जोशीले थपे, “चेकपोष्टबाट केही समयमा कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाइरहेका एक युवकले कराउँदै अङ्कल ट्रकमा आगो भन्दै चिच्याउँदा तल झरेर हेर्दा पछाडि आगो लागेको थाहा भयो, हामी आत्तियौँ ट्रक थोरै पछाडि लिए। पछाडि बस भएकाले पुल बाहिर निकाल्न सकिएन।”
पर्साको न्यू बागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय कार्टुन लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रकचालक जोशीले बताए। आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए। दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन्। आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए। आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट रु एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ। ट्रकसमेत पूर्णरूपमा जलेको छ। चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद रु ५७ हजार पनि जलेको बताए। नगद र सामान गरी रु एक करोड १६ लाख २५ हजारबराबरको क्षति भएको छ। क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको छ। एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका छन्।