काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद नयाँ बानेश्वरमा आज बिहान दाहालले उम्मेदवारी दर्ता गरेका हुन्।
दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन्। दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाका संयुक्त उम्मेदवार दाहाल हुनेछन्। सत्ता गठबन्धनबीच फागुन २१ मा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ।
चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए।