काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेदरल्यान्ड्सको सामना गर्दैछ। खेल टियु क्रिकेट मैदानमा साढे ११ बजे सुरु हुनेछ।
नेपाल लिग चरणमा ४ अंकका साथ उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको हो। ५ अंक जोडेको नेदरल्यान्ड्स भने शीर्षस्थानमा रहेर फाइनल पुगेको हो। लिग चरणमा नेपाल र नेदरल्यान्ड्सले एक अर्कासँग १-१ खेल जितेका थिए। नेपालले नामिबियासँग पनि १ जित र १ हारको नतिजा निकालेको थियो। नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो।
सन् २०२१ मा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो। त्यसबेला नेपाल १ सय ४२ रनको अन्तरले विजयी भएको थियो। नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो ५ मध्य ३ खेलमा नेपालले जित हासिल गरेको छ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा हार बेहोरेको नेपाल त्यसपछि लगातार दुई जितका साथ फाइनल पुगेको हो।