काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्। सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताए।
‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ,’ उनले भने, ‘मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं।’
उनले गठबन्धन परिर्वतन निरन्तरतामा क्रम भंगता भएको बताए। ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन यो निरन्तरतामा क्रम भंग गर्दै नयाँनयाँ परिस्थित सिर्जना गर्दै अगाडि बढ्ने जात हो माओवादी,’ उनले भने।
प्रचण्डले अगाडि भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो।’
माओवादी पार्टी नेपाली राष्ट्र र जनताको घोडा भएको पनि उनले बताए। ‘हामी माओवादीहरू नेपाली राष्ट्र र जनताको घोडा हो, अरू कसैको घोडा होइन,’ उनले भने।