जलेश्वर (महोत्तरी)। महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–५ बस्ने ६० वर्षीय अकबर राइन र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ बस्ने ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पिडी ३३३० नंको भारतीय टाटासुमो आइतबार अबेर राति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरमा पछाडिबाट नै ठक्कर दिँदा ट्र्याक्टरमा बसेका कामदार अकबरको मृत्यु भएको थियो। ट्र्याक्टरलाई ठक्कर दिएर भाग्दै गरेको टाटासुमोले भाग्ने क्रममाविपरीत दिशाबाट साइकलमा चढेर आउँदै गरेका राजकिशोरलाई ठक्कर दिएपछि मृत्यु भएको थियो।
टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार अर्का कामदार पिपरा गापा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भई उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको जनाइएको छ। टाटासुमो पनि भाग्ने क्रममा मटिहानी नपा–४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको थियो। सुमोका चालक फरार रहेका छन्।