राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ।
कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए। विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो। छलफलमा सांसदहरु रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राखेका थिए।
त्यस्तै, बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० पारित गरेको छ। समितिका सभापति सुरेशकुमार आलेमगरले सो प्रस्ताव पेस गरेका थिए। त्यसमाथि सांसदहरु प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखेका थिए।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन २१ गते बस्नेछ।