काठमाडौं । वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाली महिला राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा नखेल्ने भएकी छन्।
एन्फाले बुधबार आफ्नो फेसबुक पेजमार्फत साम्बा जोर्डन विरुद्ध फाइनल नखेल्ने जनाएको छ। साउदी अरेबियामा जारी प्रतियोगितामा नेपाल र जोर्डनबीच बिहीबार फाइनल हुनेछ।
नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेबनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा अनुपस्थित हुने छिन्।
फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ। वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन्।
फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो। जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ। साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो।
तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ। रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ। दुई क्लबबीच ४ अंकको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ।