जति चोट दिन्छौ देउ मायालु मुटु भित्र साँचेर राख्ने छु
जति आँशु दिन्छौ देउ मायालु दुई आँखाबाट झार्नेछु
यस्तै मानवीय संवेदनाका गीत गाउने लाखौंका प्रिय गायक भजन शिरोमणि भक्तराज आचार्य अब हामी माझ रहेनन्। उनले सोमबार आफ्नो आवाजलाई हामीमाझ छोडेर सदाका लागि बिदा भए।
यो उनकै कालजयी गीत हो जुन आज पनि उत्तिकै लोकप्रीय छ। यतिका वर्ष उनी गुपचुप एकान्तमा बसे। उनको गायन शक्ति नै कसैले खोसेर लग्यो, उनको अजर अमर जिब्रो ने कसैले लुछेर लग्यो। आज उनको भौतिक शरीर पनि हामीबाट टाढा भयो।
गायक भक्तराज आचार्यको जन्म बिस १९९९ साल असोज १६ गते धनकुटाको कुरुले तेनुपा गाउँमा माता रेणुका आचार्य तथा पिता बलभद्र आचार्यका पुत्रका रुपमा भएको हो।
उनका दुई सन्तान सत्यराज आचार्य र स्वरुपराज आचार्य हुन् । दुवै नेपाली संगीत क्षेत्रका प्रिय गायक हुन् । भक्तराज श्रीमती सुशिला आचार्यसमेत कुनै बेला रेडियो नेपालकी कर्मचारीका रुपमा थिइन्। भक्तराजले आफ्नो करियर निर्माणको क्रममा ईल्लाहबाद भारतबाट शास्त्रीय सङ्गीतमा संगीत प्रभाकर’ गरेका थिए भने नेपालमा आइए सम्मको अध्ययनसमेत पुरा गरेका थिए।
बिस २०३१ सालदेखि बि.स. २०६१ सालसम्म उनी रेडियो नेपालमा गायकको रुपमा नै लामो समय जागिरे जीवन बिताएका थिए। यस बीचमा उनी सांगीतिक कार्यक्रमको शिलशिलामा भुटान, चीन, उत्तर कोरिया, बर्मा, युएई, जर्मनी लगायतका देशमा आफ्नो गायन प्रस्तुती दिएका थिए।
भक्तराज सानै उमेर देखि गीत गाउने गर्दथे कुनै राम्रो रचना भेटे भने त्यसमा धुन हालेर गीत बनाएर गाउने समेत गर्दथे । तर उनको मन भित्र न गायक बन्ने सपना थ्यो न त संगीतकार नै। जीवन संघर्ष गर्ने क्रममा भक्तराज भारतको डुवर्स पुगे । त्यहाँ साच्चिकै जीवन संघर्ष गरे उनले आफु र परिवार पाल्नका लागि ।
उनी स्थानीय स्टेजहरुमा गीत गाउँथे। यतिकैमा एक कार्यक्रममा नेपालबाट कार्यक्रम गर्न गएका माणिकरत्न जस्ता दिग्गज गायकको आँखामा पर्छन उनी। माणिकले त्यस्तो आवाज भएको गायक त्यो भन्दा अघि कहिलै काठमाडौँ बाहिरको भ्रमणमा देखे भेटेका थिएनन्। भक्तराजको आवाज सुन्नेबित्तिकै उनले सिधै दायाँबायाँ नगरी काठमाडौँ आउन निम्तो दिए। आफ्नो आवाजको बारेमा खुलेर नेपाली संगीतका कुनै दिग्गज कलाकारले प्रसंशा संगै काठमाडौँ नै आउने निम्तो गरेपछि भक्तराजमा पनि आत्मविश्वास र साहस जुट्यो उनि काठमाडौं आएर रेडियो नेपालमा स्वर परीक्षा दिए सफलता प्राप्त गरे।
बि.स.२०३० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगीतामा संगीतकार अम्बर गुरुङ्गको रचना संगीतमा गाएको ‘होसियार’ बोलको गीतबाट उनले प्रथम उत्कृष्ट गायकको पुरस्कार पाएपछि नै उनको जीवनले कोल्टे फेर्यो। त्यसपछिका दिनमा आफ्नो गायन कला, प्रतिभा, क्षमता, अध्ययन र अभ्यासलाई स्तरोन्नति गर्दै यी अजर श्रष्टाले आफ्नो सांगीतिक जीवनको १५ वर्षको अवधिमा ४५० जति गीत गाए। उनको गायन ख्यातिकै कारण आचार्य नामक एक स्तरीय नेपाली चलचित्रसमेत निर्माण भइ प्रदर्शन भैसकेको छ जसले धेरैको मन जित्यो। उनकै जेष्ठ पुत्र सत्यराजले पिता भक्तराजको जीवन अभिनय गरेर धेरैको मन छोए।
गायक आचार्य एक अत्यन्त सफल र कालजयी संगीतकार पनि हुन्। उनले संगीत गरेका गीतहरु आम संगीतप्रेमी श्रोतामाझ लोकप्रिय छन् । उनका छोराहरु सत्य-स्वरुपका अनुसार पहिले पहिले उनी घरमा पनि दैनिक ४ देखि ६ घण्टा नित्य रियाजमा नै दिन बिताउने गर्थे। उनको संगीतमा एकांकी पन या एकोहोरो प्रवृत्ती मात्र सुनिन्नथ्यो, गीतको कम्पोजिसनमा बिबिधता, गायन प्रतुती र गायकीमा विविधता, गीतका बीचबीचका साना तर महत्वपूर्ण धुन निर्माणमा विविधता, टोनिक कर्डसको प्रयोजनमा बिबिधता, रेन्जमा बिबिधता, र रागमा आधारित गीतको बुनोट र संरचना आधार निर्माणमा समेत बिबिधता प्रस्तुत गर्न उनी सफल र माहिर थिए। यसलाई संगीतमा असाधारण प्रतिभा मानिन्छ जो भक्तराजको सफलताको राज थियो।
अहिले पिताको मार्गदर्शन पहिल्याउँदै सुपुत्रद्वय सत्यराज र स्वरुपराज नेपाली संगीतको क्षेत्रमा उदाहरणीय गायकका रुपमा चम्किरहेका छन् । आफ्नो बुवाको अवस्था प्रति निकै मार्मिक प्रतिक्रिया दिँदै उनीहरु एक कार्यक्रममा भनेका थिए, “एउटा खुल्ला जंगलमा निसंकोच र निस्फिक्री गर्जिरहेको सिंह यतिबेला साँघुरो चिडियाखानामा कैद भएर बसेको छ। आवाजसमेत निकाल्न नसक्ने अवस्थामा पुगेको छ। तर उ सिंह त सिंह नै हो कहिल्यै स्याल हुन सक्दैन। बुवा हामीलाई संगीतबारे विचार मन्थन हुँदा भनिरहनु हुन्थ्यो संगीत र मेरो सम्बन्ध पानी र माछा जस्तै छ भनेर। अब कल्पना गर्नुस पानीविना माछा कसरि बाँचेको होला?”
बि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित मानवीय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य। उनलाई २०४६ सालमा एउटा बज्रपात आइ लाग्यो, उनीमाथि काठमाडौंको बौद्धमा सांघातिक हमला भयो जसको कारण उनको टाउकोमा १०० टाँका लगाउनु परेको थियो। उनको त्यो चोट निको नहुँदै अर्को बज्रपात आइलाग्यो, उनको जिब्रोमा देखियको सानो खटीराले क्यान्सरको रुप लियो जसको कारणले २०५० मा जिब्रो काट्नु पर्यो र त्यो सुरिलो स्वर हामीबाट टाढा हुनपुग्यो।
भजन शिरोमणि भक्तराज आचार्यले आफ्नो सांगितिक जीवनमा धेरै पुरस्कार पाए। तर, सबैभन्दा ठूलो सम्मान र पुरस्कार सिंगो नेपाल धर्ती र नेपाल आमाको न्यानो र चोखो आशिर्वाद अनि लाखौं लाख नेपाली जनताको सम्मान र गहिरो माया प्रेम प्राप्त गरे। यस्ता महान श्रष्टाप्रति हाम्रो हार्दिक श्रद्धासुमन।