काठमाडौं । क्यानेडियन स्टडी सेन्टर र अग्नि महिन्द्रा समूहद्वारा प्रायोजित काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइजमा फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ। शनिबार विश्वविद्यालयको स्कुल अफ मेनेजमेन्ट (कुसम) मा आयोजित सेमिफाइनलबाट फाइनल पुग्ने टोली तय भएको हो।
फाइनलमा डा. फिश, लेडीज विथ ए ल्याम्प, हेम्पायर, द अपसाइकलर्स र कोदोको खाजा प्रतिष्पर्धा गर्दैछन्।
सेमिफाइनलमा १३ टोली थिए, जसबाट ५ टोली फाइनलको यात्रा तय गरेका हुन्। सेमिफाइनल सहभागीहरुले “अनलिमिटेड” विषयवस्तुमा आफ्नो नवीन व्यापारको ‘पिच’ प्रस्ताव गरेका थिए।
प्रतियोगितामा विभिन्न क्षेत्रका विज्ञहरूद्वारा मूल्याङ्कन गरिएको थियो र फाइनलका टोलीहरू चुनिएका थिए। जसमध्ये लर्निङ एण्ड डेभलपमेन्ट – आइआइडिइ नेपाल प्रमुख अन्चिता भिम्सारिया, च्यौ बायो टेक्नोलोजीका संस्थापक तथा इन्जिनियर अनुसन्धानकर्ता गुञ्जन घिमिरे, रुबी शाह र कारोबार एपका संस्थापक समिर फुयाँल निर्णायक टोलीमा रहेका थिए।
कृति राई र चर्चिका पोखरेल कार्यक्रमको इएमसिइइ थिए, जसले कार्यक्रमलाई सहजीकरण तथा मार्गदर्शन गरेका थिए।
कार्यक्रमको सुरुवातमा सबै निर्णायक, अतिथि, सहभागी र उपस्थित सबैलाई सहक्याम्पस प्रमुख प्रारब्द सिंहले स्वागत गरेका थिए। त्यसपछि अग्नि ग्रुपका तर्फबाट प्रमुख अतिथिले मुख्य मन्तव्य राखेका थिए।
यसपछि प्रतिष्पर्धिहरुले आफ्ना आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम सुरु भयो। सहभागीहरूलाई भिडियो ‘पिच’ वा लाइभ ‘पिच’ मध्ये एक तरिका छनोट गर्न दिइयो र उक्त ‘पिच’लाई लिएर ४ मिनेटको प्रश्न र उत्तर राउन्ड भयो। जसमा निर्यायकहरुले सहभागीहरूको उनीहरुको ‘पिच’सँग सम्बन्धित प्रश्नहरू राखे। प्रत्येक निर्णायकलाई ‘पिच’ मूल्याङ्कन गर्न स्कोरकार्ड प्रदान गरिएको थियो। यसबाहेक, दर्शकहरूलाई पनि क्विज मार्फत कार्यक्रममा सहभागी गराइएको थियो र पुरस्कारहरू पनि प्रदान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख साशा सुनुवारले कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रमका पूर्व चरणहरुलाई सफल र प्रभावकारी बनाउन थुप्रै प्रायोजकहरूले सहभागीहरूलाई आवश्यक तालिमहरू प्रदान गरेर सहयोग गरेकोमा आयोजकले धन्यवाद पनि दिएको छ।
काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको ग्रान्ड फिनाले फ्रेब्रुअरी २७ (फागुन १५) मा काठमाडौं विश्वविद्यालय, धुलिखेलमा भव्यताका साथ आयोजना हुँदैछ।