काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रत आज समापन गरिँदैछ। आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा सुरु भएको थियो। श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ ।
काठमाडौंको साँखुस्थित शाली नदीमा व्रतालुहरूको आज भीड छ। यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड रहेको छ। हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन्।
रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन्।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ।
सय रोटी वर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ। यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।