काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट शुक्रबार दिउँसो चोरी भएको शिशु सोही दिन मध्यरातमा भक्तपुरको काँडाघारीमा फेला पर्यो।
शिशु हराएको खबर दिउँसो १ बजे प्रहरीमा पुगेपछि प्रहरीले घटनाको अनुसन्धानमा सक्रियता बढाउँदै सुक्ष्म अनुसन्धान थालेको थियो। प्रहरीलाई शिशु फेला पार्न धेरै समय लागेन। काठमाडौं प्रहरीले मध्यरातमा उक्त शिशुको उद्धार गर्यो।
शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो।
बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंह रहेकी प्रहरीले जनाएको छ।
मनकुमारीले विवाह भएको तीन वर्ष सम्म पनि सन्तान नभएपछि बाध्य भएर शिशु चोरी गरेको प्रारम्भिक वयानमा बताएकी छन्। सुरुमा प्रहरी टोली उनको घरमा पुग्दा उनले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन्। तर सिसी टिभी फुटेजमा देखिएको हुलिया र कपडा तथा संकास्पद गतिविधिबाट उनको पहिचान भएको प्रहरीले जनाएको छ।
सिसी टिभि फुटेजमा उनलाई लिन उनकी दिदी पनि पुगेको देखिएको छ। प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ।
प्रहरीले उनका श्रीमान् र उनकी दिदीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ भने शिशुलाई परिवारको जिम्मा लगाइएको छ।