काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे। “आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा वहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ”, सांसद भट्टराईले भने, “आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुपर्यो। आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ।”
उनले सरकार, मन्त्रालय, इपिएस कोरिया शाखाको लापरबाहीका कारण उक्त घटना हुन पुगेको बताए। युवाको विरोध प्रदर्शन भएको बेला भौतिक, पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वाला सोही बाटो हुँदै अगाडि बढेर आन्दोलनरत युवालाई थप आक्रोशित बनाएको उनले आरोप लगाए।
यही फागुन ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरणसमेत गराए।
एमाले सचिव भट्टराईले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामोक्स) खरिदमा अनियमिता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मन्त्रीसँग बयान लिएको अवस्थामा मन्त्रीले नैतिकताको आधारमा पदमा रहिरहन नमिल्ने दाबी गरे।
“वहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने, यससँगै छानविनलाई पनि अघि बढाउने विषय ठीक भएन, यसबाट छानबिन प्रक्रिया प्रभावित हुन्छ। छानविनलाई निष्पक्ष अघि बढाउन वर्तमान सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मार्गप्रशस्त गर्नुपर्छ।”
सांसद भट्टराईले भगवान गौतमबुद्धको अस्तु भएको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनमा भाडामा लगाउने सम्बन्धमा पनि अनियमिता भएको उल्लेख गर्दै संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पदमा रहन नमिल्ने जिकिर गरे।
प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे।
सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए। सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएरहेपछि उनले बैठक स्थगित गरेका हुन्।