सिरहा । जनता समाजवादी पार्टी, नेपालका नेता रामदयाल यादवले मिर्चैया नगरपालिकामा आन्दोलनका क्रममा भएको घटनाको विषयमा दर्ता भएको मुद्दा फिर्ता हुनुपर्ने माग गरेका छन् ।
नेता यादवले नागरिकका आवाज दबाउन झुठा मुद्दा लगाइएको भन्दै सो मुद्दा फिर्ता हुनुपर्ने माग गरेका हुन् । मुद्दा फिर्ता नभई कारवाही प्रक्रिया अघि बढे सडकमा आगो बाल्न बाध्य हुने चेतावनी उनले दिएका छन् ।
उनले नगरप्रमुखले राजा महाराजाको जस्तो हर्कत देखाएको आरोप पनि लगाए । मिर्चैया नगरपालिकामा गत माघ २८ गते भएको आन्दोलनका क्रममा सहभागी भएका आन्दोलनकारीहरूमाथि मुद्दा दर्ता भएपछि निरन्तर रूपमा आन्दोलन हुँदै आएको थियो ।
तर, प्रशासनको तर्फबाट समय माग भएपछि उनीहरूले आन्दोलन स्थगित गरी आइतबारसम्मको समय दिएका छन् । यो अवधिभित्रै यो विषयले निकास नपाए सशक्त आन्दोलनमा जाने चेतावनी यादवले दिए ।