काठमाडौं – अनिल योञ्जनको निर्देशनमा नेपाली चलचित्र ‘रुमानी रङ्ग’ बन्ने भएको छ। आज कमलपोखरीस्थित चलचित्र भवनमा अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने जानकारीसहित चलचित्र निर्माण घोषणा गरिएको हो।
यसअगाडि ‘इन्टु मिन्टु लन्डनमा’ जोडी बनेर प्रस्तुत हुँदा झैँ यसपटक काम गर्न आफूहरू उत्साहित रहेको अभिनेता मगरले बताए। “मलाई यो चलचित्रको कथाले आकर्षित गरेको हो। मैले आफूलाई प्रस्तुत गर्न चाहिरहेको भूमिका यसमा छ। यो प्रेमकथामा आधारित रोमान्टिक कमेडी चलचित्र हो”, उनले भने। उनले चलचित्र अष्ट्रेलियामा छायाङ्कन हुने जानकारी दिँदै आफू तयारीमा जुटेको बताए।
अभिनेत्री शाहले कथाको तारिफ गर्दै आफू सधैँ फरक भूमिकामा प्रस्तुत हुन प्रयत्नशील रहेको बताइन्। “मैले अघिल्ला चलचित्रमा पनि फरक भूमिका गर्ने कोसिस गरेकी थिएँ। केही सफलता र केही असफलतामार्फत प्राप्त सिकाइका कारण अहिले सन्तुलित रुपमा काम गरिरहेकी छु”, उनले भनिन्।
उनले निर्देशकले कथा सुनाउने शैली र प्रस्तुतिकरणका विषयमा गरेको तयारी र अभिनेता मगर चलचित्रमा रहेकाले पनि आफूलाई राम्रो बन्नेमा विश्वस्त हुने आधार पुगेको बताइन्।
‘डायरी’मार्फत निर्देशनको सुरुआत गरेका निर्देशक योञ्जनले यसपटक पूर्ण रुपमा प्रेम कथानक चलचित्रको तयारी गरेको जानकारी दिए। उनले भने, “अहिले हाम्रो प्रेम कथानक चलचित्र परिवारले हेर्ने कमै बनिरहेका छन्। यो प्रेम कथामा परिवार पनि उत्तिकै जोडिएको छ। यो सबै वर्गका दर्शकलाई हुने किसिमले तयार गर्नेछु।”
उनले चलचित्रको छायाङ्कन आउँदो वर्ष विसं २०८१ को वैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने जानकारी दिए।