एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए ले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो। नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए। उनले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाए।
त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए। सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए।
क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष थाकरले समान दुई÷दुई विकेट लिए भने कप्तान साद बिन जफर र कलिम सानाले सामन एक÷एक विकेट लिए।
आजको विजेताले जारी शृङ्खलामाथि कब्जा जमाउनेछ। तीन खेलको उक्त प्रतियोगितामा हाल दुवै टोलीले एक÷एक खेल जितका छन्। नेपाल पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको जित हासिल गरेको थियो।