काठमाडौं । आइसिसी लिग-२ को खेलमा नेपाल दोस्रो पटक पनि नामिबियासँग पराजित भएको छ। नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको हो। यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
नेपालले जितको लागि दिएको १६९ रनको सामान्य लक्ष्य नामिबियाले ४० ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो। नामिबियाको जितमा जेराल्ड एरास्मसले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ५७ बल खेल्दै आठ चौका र दुई छक्काको सहायताले सर्वाधिक ५२ रनको योगदान गरे।
त्यसैगरी जेजे स्मिथले अविजित ३४ रन बनाउँदा माइकल भान लिंगेनले ३१ रन बनाए। त्यस्तै रुबेन ट्रम्पलम्यानले १६ रन बनाए भने बर्नार्ड स्कोल्ज र निको डाभिनले समान ८-८ रन जोडे।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी र कुशल मल्लले समान एक-एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव १ ओभरमै सबै विकेट गुमाएर १६८ रनको योगफल बनाएको थियो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए। उनले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतमा ५८ रनको योगदान दिएका हुन्।
त्यस्तै कुशल मल्ल ३८, भीम सार्की २६, कुशल भुर्तेल १८ तथा करण केसीले १२ रन बनाए। नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल रनको खाता नै नखोली आउट भए। बलिङतर्फ नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले समान चार-चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक-एक विकेट लिए।
नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पारेको थियो। यस जितसँगै नामिबियाले चार अङ्क जोडेको छ भने नेपालको दुई अङ्क छ।