नेपाल ‘ए’ टोलीले पहिलो जित हात पारेको छ। क्यानले केही दिनअघि मात्र नेपाल ‘ए’ टोली बनाएको थियो। त्यसपछि क्यानडा–११ सँग खेलेको पहिलो खेलमा पराजित भए पनि मंगलबारको दोस्रो खेलमा २ विकेटको जित निकालेको हो।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हार्दै क्यानडा–११ ले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनायो। २४१ रनको विजयी लक्ष्य नेपालले ४९ दशमलव १ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। यसअघि पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकेटले पराजित भएको थियो।
नेपालका लागि सन्दीप जोरालले सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले। उनले ७४ बल खेल्दै सात चौका र एक छक्का हाने। त्यस्तै बसिर अहमदले ५२ रन बनाए। उनले ७० बलमा चार चौका र एक छक्का हिर्काए। रासिद खानले ४७ तथा अर्जुन कुमालले ४० रन बनाए।
बलिङतर्फ क्यानडा–११ का निखिल दत्तले दुई तथा साद विन जफर र हर्श थाकरले एक-एक विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा क्यानडा–११ का लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ८२ बलमा पाँच चौका हाने। यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, आरोन जोनसनले ३६ तथा डिलोन हेलिगरले १६ रन बनाए।
बलिङतर्फ नेपालका साहब आलमले तीन, शेर मल्ल र रासिद खानले दुई दुई तथा सागर ढकाल र बसिर अहमदले एक-एक विकेट लिए।
सिरिजको अन्तिम खेल बिहीबार हुनेछ।