काठमाडौँ – बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक चल्दा चल्दै सभापति शेरबहादुर देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार हानिए।
भविष्यमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विवाद पार्टीभित्र चर्किइरहेका बेला कांग्रेस देउवा र खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धनबारे आश्वस्त पार्न बालुवाटार पुगे।
बुढानीलकण्ठ बैठकमा महामन्त्री गगनकुमार थापाको दस्तावेजमाथि छलफल चलिरहेको थियो। छलफलका लागि देउवा निवासमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी थियो। यस विषयलाई लिएर गठबन्धनमा समस्या आउनसक्ने एवं प्रचण्डलाई नै संका उत्पन्न हुनसक्ने देखिएपछि बैठकको बीचबाटै उठेर देउवा र खड्का प्रचण्डलाई गठबन्धनमा समस्या नआउने बारे आश्वस्त पार्न बालुवाटार पुगे।
बालुवाटार स्रोतका अनुसार तीनजनाबीच करिब आधा घण्टा कुराकानी भयो। भेटमा देउवाले गठबन्धनका विषयमा महासमितिमा जेजस्ता बहसहरु आए पनि सशंकित नहुन विश्वास दिलाएको स्रोतले बतायो।
थापाको महासमिति बैठकमा प्रस्तुत गर्ने सांगठनिक दस्तावेजमा भविष्यमा कुनैपनि दलसँग चुनावी गठबन्धन नगर्ने उल्लेख छ। त्यसलाई लिएर सभापति देउवाले आपत्ति जनाउदै दस्तावेज परिमार्जन गर्न दबाब दिइरहेका छन्।