आज फागुन ७ गते। नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा देशभर प्रजातन्त्र दिवस मनाइँदै छ।
नेपाली जनताको संघर्ष र बलिदानीबाट २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातान्त्रिक युग प्रारम्भ भएको थियो। प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ। निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको दिनका रूपमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ।
दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न दलका प्रमुखले शुभकामना दिएका छन्। काठमाडौँको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्य रूपमा मनाइँदै छ।
प्रजातन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सरकारले यसअघि नै राष्ट्रिय प्रजातन्त्र दिवस २०८० तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको थियो।
प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो।
तीन दिनसम्म प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चारगृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्ने, विभिन्न ठाउँमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखेर सजाउने र बेलुकी सार्वजनिक ठाउँ र घरघरमा दीप प्रज्वलन गरिने निर्णय भएको थियो।