आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ। सुहानीको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो।
केही दिनअघि मात्रै उनको खुट्टा भाँचिएको थियो। उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो। यही प्रतिक्रियाका कारण शुक्रबार साँझ उनको मृत्यु भएको हो।
आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेखेको छ, ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौँ। उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना। सुहानी एक धेरै प्रतिभाशाली कलाकार थिइन्, उनले सधैँ एक टोली खेलाडीको रूपमा काम गरे। उनीबिना दंगल अधुरो हुन्थ्यो। सुहानी तिमी सधैँ हाम्रो मनमा स्टार रहनेछौँ।’
सुहानीले ‘दंगल’ मा आमिर खानकी कान्छी छोरी (जुनियर बबिता फोगाट) को भूमिका निभाएकी थिइन्। यो फिल्मबाहेक उनी केही टिभी विज्ञापनमा पनि देखिएकी थिइन्। तर, पछि उनले कामबाट ब्रेक लिएर पढाइ पूरा गर्ने निर्णय गरिन्। उनले धेरै अन्तर्वार्तामा पढाइ सकेर फिल्ममा फर्किने बताएकी थिइन्।