गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ। यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग-अलग शुभकामना सन्देश जारी गरेका छन्।
प्रदेश प्रमुख गुरुङद्वारा जारी शुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिइएको छ। सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताए। प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख गर्दै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई ध्यान दिन आग्रह गरे।
सन्देशमा नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो जनाउँदै सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् भनिएको छ।
सङ्घीयतासँगै प्रदेशको स्थापनापश्चात् धेरै उदाहरणीय कार्य भएता पनि त्यो पूर्ण हुन नसकेको भन्दै उनले जनताको चाहना र लक्ष्यअनुसार प्रदेश सरकारमार्फत धेरै काम गर्न बाँकी रहेको बताए। प्रदेश स्थापना दिवसले सङ्घर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट विकास र समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
प्रदेशबासीको जीवनस्तर सुधारमा सरकार प्रयत्नशीलः मुख्यमन्त्री
स्थापना दिवसकै अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन्। नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात् प्रथमपटक प्रदेश सरकारको गठन भएको सम्झनास्वरूप प्रत्येक वर्ष फागुन ४ गतेलाई प्रदेश सरकारको स्थापना दिवसका रूपमा मनाउँदै आइएको सन्देशमा भनिएको छ।
संविधानले कार्यजिम्मेवारी र जनताको अपेक्षालाई पूरा गर्ने क्रममा प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्रका लाभांशहरुको समन्यायिक वितरण गरी सुशासनलाई स्थापित गर्न प्रयत्नशील रहेको उनले बताएका छन्।
प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको उल्लेख गर्दै सन्देशमा गण्डकी प्रदेशको दोस्रो आवधिक योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशबासी’ सोच अगाडि बढाइएको भनिएको छ।
“नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ”, मुख्यमन्त्रीले भनेका छन्। सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताका आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको उनले बताएका छन्।
सो अवसरमा आज प्रदेशभर सार्वजनिक विदासमेत दिइएको छ।