दाङको घोराहीमा एक प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ। दाङको घोराही–१५ दामोदार चोकनजिक आज साँझ नेपालगञ्जमा कार्यरत प्रहरी जवान यमबहादुर झाँक्रीले ‘डिउटी’ मा रहेकी धनमाया थापामगरलाई गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो।
गोली लागेर ज्यान गुमाएकी थापामगर वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार घटनास्थलमा तीन राउण्ड गोली चलेको थियो। महिला प्रहरीमाथि गोली चलाउने झाँक्रीलाई लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरिएको छ।
धनमाया उनकी श्रीमती रहेकी खुलेको छ। सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुसार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।