आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। बिहीबार टियु क्रिकेट मैदानमा नामिबियाले नेपाललाई ४ विकेटको पराजित गरेको हो। नेपालले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
नामिबियाको जितमा जान फ्रिलिङ्कले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । त्यसैगरी जान निकोल लोफिट इटनले ३१ रन बनाए भने मिचेल भान लिङगेनले २३ रन बनाए । त्यस्तै निकोलास डाभिनले १५ रन जाडे । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन र ललित राजबंशीले दुई विकेट लिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटिएको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे। त्यस्तै गुल्शन झाले २१ रन बनाए। करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए । कुशल मल्लले १५ रन बनाए। अन्य खेलाडी सस्तैमा आउट भए। सोमपाल कामी दुई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन्। त्यसैगरी पवन शर्राफले १२, अनिल शाहले ८ तथा आशिफ शेखले ४ रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मसले पाँच विकेट चट्काए। त्यस्तै ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुई-दुई विकेट लिए।
नेपालले टियु मैदानमा १५ ओडीआई खेलपछि हार बेहोर्दा प्रशिक्षक मोन्टि देशाइको घरेलु ओडीआईको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ।
अब नेपालले आफ्नो दोस्रो खेल शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ।