कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु प प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला छन्। मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वासकी विमलादेवी भाट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।
प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ।