गाजामा बन्धक बनाइएका करिब १०० परिवारका प्रतिनिधिले हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्न बुधबार हेग पुगेका छन्।
इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा करिब २५० जनालाई अपहरण गरेका थिए, जसमध्ये करिब १३० जना अझै गाजामा बन्धक बनाइएका छन्। तीमध्ये २९ जनाको मृत्यु भएको अनुमान गरिएको छ।
“यो हाम्रो कथा मात्र होइन। यदि हामीले यसलाई रोकेनौं भने भोलि यो सारा विश्वको कथा हुनेछ,” गाजामा बन्धक बनाइएका मध्येका एक व्यक्तिका आफन्त ओफ्री बिबासले भने।
“सम्पूर्ण मानव जातिले एक विश्वव्यापी ‘आतङ्कवादी सेना’ बिरूद्ध एक साथ उभिनु पर्छ, यसमा हमास उसको अभियानको एक इकाई मात्र हो,” हेगको लागि उडान भर्नुभन्दा केही मिनेट अघि उनले भने।
‘होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरम’ का हेम रूबिनस्टाइनले अभियान समूहले हमासका नेताविरुद्ध आइसिसीमा मुद्दा दायर गर्ने बताए।
रुबिनस्टाइनले तेल अभिभ नजिकै बेन गुरियन विमानस्थलबाट टेलिभिजनमा प्रसारण गरिएको भिडियो सन्देशमा भने, “हामी बन्धकका परिवार हौं र हामी भयानक नारकीय अवस्थाबाट गुज्रेका छौं र अझै पनि गुज्रिरहनुपर्ने बाध्यता देखिएको छ।”
उनले भने, “हामी हमासका सदस्य र तिनका सहयोगीहरूविरुद्ध मुद्दा दायर गर्नेछौं र उनीहरूले मानवताविरुद्धको अपराधका लागि सबैभन्दा ठूलो मूल्य चुकाउनु पर्ने सुनिश्चित गर्नेछौं।”
इजरायलको आधिकारिक तथ्याङ्कका आधारमा एएफपीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबर ७ मा भएको हमासको आक्रमणका कारण इजरायलमा करिब १ हजार १६० जनाको मृत्यु भएको थियो।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलमा भएको आक्रमणमा परी कम्तीमा २८ हजार ४७३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेका छन्।
बन्धक बनाइएका परिवारले इजरायली अधिकारीहरूलाई बाँकी बन्धकहरूको रिहाईका लागि दबाब दिइरहेका छन्।
इजरायलका गुप्तचर प्रमुख डेभिड बार्नेयाले मङ्गलबार इजिप्टको राजधानीमा सिआइएका निर्देशक विलियम बन्र्सलाई भेटेर गाजामा युद्ध रोक्ने कतारी मध्यस्थताको योजनाबारे छलफल गरेका थिए।