पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरी पिपरीमा स्कारपियोको ठक्करबाट साइकलमा यात्रा गरिरहेका एकैघरका दिदी बहिनीको मृत्यु भएको छ । जीपले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षिया राधा बस्नेत र उनकी बहिनी १६ बर्षिया बिपना केसीको मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ गईरहेको प्र ३–०१–०२२ च–१३६९ नम्बरको जीपले बुधबार बेलुका सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतलाई लमही अस्पतालले मृत घोषणा गरेको थियो। केसीलाई उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले बताए।
मृतक एकैघरका दिदीबहिनी रहेको र राधाको प्युठानमा विवाह भएको उनले जानकारी दिए। सवारी साधान नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको मल्लले जानकारी दिए। घटनापछि जीप चालक फरार रहेको उनको खोजी भइरहेको उनले बताए।