सिरहा । आन्दोलनका क्रममा मिर्चैया नगरपालिकाको कार्यालयमा भएको ढुंगामुढा घटनालाई वार्ताका माध्यमबाट निकास निकाल्न प्रतिपक्षी दलहरूले आह्वान गरेका छन् ।मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र माओवादीको एउटा समूहले पत्रकार सम्मेलन गरी यस्तो आह्वान गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेताहरूले यो राजनीतिक घटना भएकाले यसलाई वार्ता र संवादका माध्यमबाट सुल्झाउनुपर्ने बताए । उनीहरूले यो घटनाको विषयमा आन्दोलनकारीहरूमाथि मुद्दा चलाउने कुरा सुनिरहेको भन्दै यस्तो भए सडकबाट सशक्त प्रतिवादमा उत्रिने चेतावनी पनि दिए ।
उनीहरूले मेयर श्रवणकुमार यादवको हठका कारण सो घटना भएको पनि आरोप लगाएका छन् । मेयर यादवले आन्दोलन नगरपालिका नजिक सुरु भएकै बेला आफू वार्ता गर्ने संदेश पठाएर पनि नआउँदा आक्रोशमा आन्दोलन उग्र बन्न पुगेको उनीहरूको भनाइ छ ।
‘मेयर समय दिएर पनि आएनन्, अनि यस्तो घटना भयो,’ जसपाका नेता रामदयाल यादवले भने, ‘यसले के देखिन्छ भने मेयरले चाहेकै थिए कि यस्तै घटना होस् र विपक्षीहरूलाई मुद्दा लगाएर जाँक्न पाइयोस् ।’
कांग्रेस नेता धनेश्वर यादवले मेयर आदव आफ्नो लुट र अपराध कर्मको विषयमा कोही नबोलोस् भन्ने चाहेको र यसका लागि प्रतिपक्षीलाई तह लगाउने कुत्सित मानसिकताले प्रेरित रहेको आरोप लगाए ।
‘उनी मेयर हुनुअघि रोडपति थिए, आज अरबपति भए, पहिले पनि अपराधी थिए, अहिले झन् ठूल्ठूला अपराध गर्दै आएका छन्,’ उनले भने, ‘यसको हामीले निरन्तर विरोध गर्दै आएका छौं, यो कुरा मेयरलाई राम्रो नलाग्नु स्वभाविक हो ।’
एमाले नेता सरोज यादवले पनि मेयर यादवमाथि आरोपको वर्षा गरे । उनले सत्ता, शक्ति र अवैध पैसाको आडमा मेयरले गर्दै आएको अपराधका कारण व्यवस्था नै बद्नाम भइरहेको आरोप लगाए । ‘हाम्रो पुर्खाहरूले लडेर यस्तो सुन्दर व्यवस्था ल्याए,’ उनले भने, ‘तर, मेयरको शैली राजतन्त्रका राजा जस्तो छ, गुण्डा जस्तो छ ।’
वक्ताहरूले मेयर यादवले नगरपालिकालाई निजी संस्था जसरी चलाएर भ्रष्टाचारको रेकर्ड कायम गरेको भन्दै मेयर र उनका आफन्तहरूको सम्पत्ति छानबिन गरी कारवाहीको माग पनि गरेका छन् ।