अष्ट्रेलियाको दक्षिणी तटमा रहेको फिलिप आइल्याण्डमा पेन्गुइनको संख्या ४० हजार नाघेको छ। जलवायु परिवर्तनका कारण यस्तो भएको वैज्ञानिकहरुको भनाइ छ। समुद्रको पानीको तापक्रम बढेपछि माछाको संख्या पनि बढेको छ। यी जीवहरूले खानलाई प्रशस्त मात्रामा खाना पाउँदै गएका छन्। खानाबाट प्राप्त हुने अतिरिक्त उर्जा उनीहरुले यौन सम्पर्कमा प्रयोग गरिरहेका छन्।
फिलिप आइल्याण्ड नेचर पार्कका समुन्द्रशास्त्री र मेलबर्नको मोनाश विश्वविद्यालयका सहयोगी प्राध्यापक आन्द्रे चियार्डिया भन्छन्, ‘सजिलो र प्रशस्त खानाले पेन्गुइनहरूलाई यौन सम्बन्ध बनाउन प्रशस्त समय र ऊर्जा दिन्छ।’
प्रोफेसर चियार्डिया लामो समयदेखि पेन्गुइनमाथि अध्ययन गर्दै आएका छन्। पछिल्लो अध्ययनमा उनले फिलिप आइल्याण्डका साना पेन्गुइनहरूले पहिलेको तुलनामा धेरै पटक यौनसम्पर्क गरिरहेको तथ्य फेला पारेका छन् र तिनीहरूको जनसंख्या पनि बढिरहेको पत्ता लगाएका छन्।
स्थानीय सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा चियार्डियाले भने, “यी चराहरूले निर्धारित समयभन्दा डेढ महिना अगावै बच्चा जन्माइरहेका छन्। जब उनीहरू यसो गर्छन् र फेरि एकपटक किन सम्बन्ध न बनाउने त भनेर सोच्छन्।”
सामान्यतया पेन्गुइनहरु आफ्ना साथिहरुप्रति वफादार रहन्छन् भन्ने विश्वास गरिन्छ तर चियार्डियाका अनुसार फिलिप टापुमा बस्ने यी साना पेन्गुइनहरू यौन सम्बन्ध बनाउनमा निकै छिटो छन्।
उनी भन्छन्, “कुनै गडबड भयो र सम्बन्धमा समस्या आयो भने यिनीहरु नयाँ पार्टनर खोज्छन्। गोप्य रूपमा एकै रातमा चार–पाँच पार्टनर राख्न सक्छन्।”
यद्यपि, अन्य पेन्गुइनका प्रजातिहरू संख्याको हिसाबले फिलिप आइल्याण्डका सानो पेन्गुइनहरू जति भाग्यमानी छैनन्। एक अनुसन्धानले सन् २१०० सम्ममा ९० प्रतिशत एम्पेरर पेन्गुइन लोप हुने अनुमान गरेको छ।
सन् २०२२ मा ब्रिटिस अन्टार्कटिक सर्भेले गरेको एक अध्ययनले १० हजार बेबी पेन्गुइनको मृत्यु समुन्द्रको सतहमा बरफ भाँचिएर भएको पत्ता लगाएको थियो किनभने बरफ समयभन्दा पहिले फुटेको थियो र त्यतिन्जेल उनीहरूले पौडी खेल्न सिकेका थिएनन्। यसको कारण पनि जलवायु परिवर्तन नै रहेको बताइएको छ।
अन्टार्कटिकमा २०१६ पछि बरफमा उल्लेखनीय गिरावट आएको छ। कुल बरफको आवरण न्यून सतहमा पुगेको छ। पछिल्लो दुई समरमा सबैभन्दा ठूलो गिरावट देखिएको छ।