जनवरी २२ मा मिस जापान सौन्दर्य प्रतियोगिता जित्ने २६ वर्षीया मोडल क्यारोलिना शिनोलाई लिएर विवाद सुरु भएको छ । युक्रेनमा जन्मिएर जापानी नागरिकता लिएकी क्यारोलिना शिनोको बारेमा एउटा पत्रिकाले ठूलो दाबी गरेको छ।
रिपोर्ट बाहिर आएपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै क्यारोलिनाले मिसको ताज टाउकोमा लगाएको १४ दिनमै फिर्ता गरेकी छिन्।
उनले मिस जापानको ताज मात्र फिर्ता गरिनन् प्रतियोगिताबाटै आफ्नो नाम हटाएर एजेन्सीबाट पनि टाढा भएकी छन्। यससँगै उनले सामाजिक सञ्जालमा एक जानकारी पनि सेयर गरेकी छन्।
बीबीसीको एउटा लेखका अनुसार क्यारोलिनाले मिस जापानको उपाधि जितेको त्यहाँका मानिसहरुले मन पराएका थिएनन्। यसको मुख्य कारण उनी मूलतः जापानकी होइनन्। उनका विशेषताहरू कुनै पनि हिसाबले परम्परागत जापानी महिलासँग मिल्दैनन्। यस्तो अवस्थामा उनको देशको प्रतिनिधित्व धेरैलाई मन परेको थिएन्।
द जापान टाइम्सका अनुसार, शुकान बुनशुन नामक पत्रिकाले क्यारोलिनाको माएदा उपनामका विवाहित पुरुषसँगको सम्बन्धको बारेमा लेख प्रकाशित गरेको थियो। यो लेखले जताततै सनसनी पैदा गरेको छ। सुरुमा, सौन्दर्य प्रतियोगिताका आयोजकहरूले क्यारोलिनाको बचाउ गर्दै एक विज्ञप्ति जारी गर्दै भने कि उनीहरूलाई थाहा थिएन कि ती व्यक्ति विवाहित हुन् भन्ने।
यद्यपि, आयोजकले पछि अर्को बयानमा भनेको छ कि यसबारे बुझ्दा क्यारोलिनाले उक्त कुरा स्वीकार गरेकी छन् कि उनको अफेयर एक विवाहित डाक्टरसँग छ जसको आफ्नै परिवार पनि छ।
उनले आयोजकलाई भ्रममा पारेकोमा माफी पनि मागेकी छन्। यसपछि क्यारोलिनाले सामाजिक सञ्जालमा माफी माग्दै एक पोस्ट पनि सेयर गरेकी छिन्। उक्त पोस्टमा उनले आफ्नो ताज फिर्तासँगै आफू एजेन्सीबाट पनि अलग भएको बताएकी छन्।