काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्धको एकदिवसीय सिरिज आफ्नो पक्षमा पारेको छ। तिन खेलको सिरिजमा नेपालले लगातार दोस्रो खेल जितेको हो।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो। क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
२८६ को लक्ष्य नेपालले एकदिवसीयमा दोस्रो पटक पछ्याएको हो। यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो।
नेपाललाई गतिलो सुरुवात दिलाउन ओपनर अनिल साहले ५० रन बनाए। यस्तै कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाउँदा देव खनालले ७६ रन बनाए। भिम सार्की २३ रनमा आउट भए। क्यानडाका हर्स र इश्वरजोतले समान २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर आरोन जोनसन र नवनितले पहिलो विकेटका लागि ९४ रन बनाएपछि ठूलो योगफलतर्फ अघि बढेको थियो। जोनसनले सर्वाधिक ६५ रन बनाउँदा नवनितले ४६ रन बनाए। यस्तै श्रेयस मोभाले ४० रन बनाए। नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले समान २/२ विकेट लिए।
सिरिजको अन्तिम खेल सोमबार हुनेछ।